काठमाडौं । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । रााष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस स्वीकृत गर्दै गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसको चार दिनपछि राष्ट्रपति भण्डारीले गौतमलाई मनोनयन गरेकी हुन् ।

राष्ट्रपतिका स्वकीय चिव भेषराज अधिकारीका अनुसार गौतमको मनोनयनबारे संसदलाई जानकारी दिन लागिएको छ । गौतम संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।