काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई बिहीबार दिउँसो पद तथा गोपनियताको शपथ गराए ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार सिंहदरबारस्थित् दिगो विकास तथा सुशासन समितिको हलमा दिउँसो गौतमले शपथ लिएका हुन् । शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गौतमलाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गरेका छन् ।

शपथ कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल र नेकपा महासचिव विष्णु पौडेल समेत उपस्थित थिए । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो नै राष्ट्रिय सभा सस्दयमा मनोनयन गरेकी थिइन् ।

२९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैआधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो गौतमको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको थियो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई लगिएको हो । गौतम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।