काठमाडौं । फिफा वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल १ सय ७०औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७०औं स्थानमै थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ ।

एक स्थान घटेको भारत १ सय ९औं स्थानमा छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । कोरोना महामारीपछि गएको मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ ।

जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । मार्चबाट अन्तर्राष्ट्रिय खेल नभएका कारण नेपालसहित सबै राष्ट्रको वरियता यथावत छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल छन् । पोर्चुगल दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।