काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण करीब ६ महीनादेखि बन्द लामो दूरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आएका छन् । लामो दूरीका सवारी सञ्चालनमा आएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा चलपहल बढेको छ ।

यस्तै, गौशाला, कोटेश्वर, कलंकी, गोङ्गबु, बल्खु लगायतका क्षेत्रबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्ला हिँडेका छन् । गाडी खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केकिएको छ । यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसभित्र समेत औषधि छर्किने गरिएको छ ।

साथसाथै कम्युटर प्रणालीमार्फत् टिकट बुकिङ समेत खुल्ला भएको बसपार्क व्यवस्थापनले जनाएको छ । ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोमिखलाई अवसरको रूपमा लिँदै विद्युतीय प्रणालीमार्फत् टिकट बुकिङ गर्न सक्ने व्यवस्था शुरू गरिएको बताए। उनले टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी अनलाइनबाटै टिकट काट्न सक्नेगरी तयारी भइरहेको बताए।

मन्त्रिपरिषद् बैठकले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै लामो दूरीका यातायात चल्न थालेका हुन् । बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिएका छन् । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सवारी सञ्चालन गरिएको व्यवसायीहरुले जनाएका छन् । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालन गरेको व्यवसायीहरुले बताएका छन् ।