काठमाडौं । नेपालले भारतसँग किनेका दुईटा रेल शुक्रबार दिउँसो नेपाल आइपुगेका छन् । भारतको जयनगरबाट छुटेका दुई रेल जनकपुर आइपुगेका हुन् । नेपाल आफैंले किनेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।

नेपाल आइपुगेका दुवै रेल ५–५ डिब्बाका हुन् । एउटा रेलमा एकैपटक १३ सय जनाले यात्रा गर्न सक्छन् । नेपालले जयनगर–जनकपुरको ३४ किलोमिटर खण्डम सञ्चलन गर्ने गरी दुई रेल नेपाल भित्रिएका हुन् ।

नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल भित्रिएको भएपनि कोरोना भाइरसका कारण नियमित सेवा भने तत्काल नहुने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । रेल औपचारिक रूपमा नेपाल भित्रिएको र अहिले स्वागत मात्रै गरिएको रेल विभागको भनाइ छ ।

दशैं अगाडि नै नियमित रूपमा रेल सञ्चालनका लागि भारतसँग छलफल गरी आवश्यक मोडालिटी तय गर्ने काम रेल विभागले गरिरहेको छ । भारत सरकारको सहयोगमा बनेको जयनगर–जनकपुर–बर्दिबासको६९ किलोमिटर अन्तर्गतको पहिलो खण्डको रेलमार्गमा रेलसेवा सञ्चालन हुनेछ ।

पहिलो चरणमा जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो । राणा शासनका बेला विक्रम संवत १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म नेपालको पहिलो रेल सेवा सञ्चालन गरिएको थियो ।

इतिहास
शुरूआतमा तत्कालीन ब्रिटिश शासकले नेपालको जंगलको काठ ओसार्ने उद्देश्यले रेल सेवा शुरू गरेको मानिन्छ। त्यो समय थियो, विक्रम संवत १९८४ को । त्यतिबेला जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्मको ५२ किमि दूरीमा सञ्चालन थियो। २०५९ मा आएको बाढीबाट बिगही पुल बगाएपछि नेपालको पहिलो रेल सेवा जनकपुरदेखि जयनगरको जम्मा २९ किमिमा सीमित थियो।

अहिले चर्चामा रहेको जयनगरबाट जनकपुरमम्मकै खण्डमा भने विसं १९९४ मा मात्रै रेल आइपुगेको हो। त्यतिबेला सञ्चालमा आएको रेल पनि न्यारोगेजकै थियो भने अहिले ब्रोडगेजको रेल सञ्चालमा आएको छ।

विक्रम संवत २०५९ सम्म सञ्चालमा आएको रेलको खण्ड र पुल बाढीले बगाएपछि भने त्यसयता नेपालमा रेल सेवा बन्द थियो। अहिले तय भएको रेल सञ्चालनको ६९ किमिमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।

रेल्वेलाई व्यवस्थित गर्न विक्रम संवत २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो थियो भने विक्रम संवत २०२५ सालदेखि भने यसको नाम जनकपुर–जयनगर रेल्वे भएको थियो। विक्रम संवत २०६१ मा यसलाई नेपाल रेल्वे बनाइएको हो।

नेपालमा रेल सेवालाई विश्वसनिय र भरपर्दो यातायातको साधन बनाउने उद्देश्यले १ असार २०६८ देखि भने रेल विभागको स्थपना गरेर रेलमार्ग निर्माणमा विभिन्न क्षेत्रमा काम भइरहेको छ ।