काठमाडौं । ललितपुर महानगरले जावलाखेल क्षेत्रमा बृहत पार्क निर्माण कार्यलाई अघि बढाएको छ । संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माणको थालनी गरेको हो ।

शनिबार एक कार्यक्रम गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गणेशमान–मच्छिन्द्र पार्कको शिलान्यास गरे । पार्क निर्माणका लागि ललितपुर महानगरपालिकाले नगरस्तरीय गौरव आयोजना अन्तर्गत ७७ लाख ३४ हजार रुपैयाँ रकम उपलब्ध गराएको छ । ग्रीन एन्ड ब्ल्यू प्रोजेक्ट्को अवधारणामा हरियालीलाई मासिनबाट जोगाउने उद्देश्यले पार्क निर्माण थालिएको मेयर महर्जनले बताए ।

खुल्ला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको र महानगरले खुल्ला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको उनले बताए । पार्कको डिजाइन वृक्ष फाउन्डेसनले गरेको छ । पार्क आगामी कात्तिक २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने महानगरले जनाएको छ ।