काठमाडौं । संविधान दिवसका अवसरमा खेलकूद क्षेत्रका १९ जनाले विभिन्न मानपदवी तथा विभूषण पाउने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकूद क्षेत्रका व्यक्तिले पदक तथा विभूषण पाउन लागेका हुन् ।

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री(तृतीय)बाट विभूषित गर्दैछ । यस्तै, तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्रशिक्षक संगिना वैद्य र प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रबल जनसेवा श्री(चतुर्थ)बाट र राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापालाई प्रवल जनसेवा श्री(चतुर्थ)बाट विभूषित गर्दैछ ।

सरकारले विभागीय टिमबाट अन्तराष्ट्रिय पदक जितेका १५ जनालाई समेत विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । शसस्त्र प्रहरी बल(एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् । यस्तै, पुलिसका ७ खेलाडी सरकारबाट विभूषित हुने सूचीमा परेका छन् । विभागीय टिमबाट १३औं सागमा पदक जितेका खेलाडीलाई विभूषित गर्ने सूचीमा समावेश गरेपनि सरकारले धेरै कीर्तिमानी खेलाडीलाई मानपदवीबाट बाहिर राखेको छ ।

३६ वर्ष लामो इतिहास बोकेको सागको १३औं संस्करणमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडी भने मानवदीबाट बञ्चित भएका छन् । सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि कुल २ सय ७ पदक जित्दै नेपाल पदक तालिकामा दोस्रो भएको थियो । सरकारले यो वर्ष ५ सय ९४ जनलाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।