काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।

यसअघि कोरोना महामारीका कारण जेठमा चुनाव गर्न सम्भव नहुने भन्दै असोजमा सारिएको थियो । असोज २४ गते पनि कोरोना महामारीकै कारण फेरि स्थगित गरिएको हो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले सरकारले निर्वाचन गर्नु उपयुक्त नहुने देखेर स्थगित गरेको हुनसक्ने बताएका छन् ।