काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। विभागीय मन्त्रालयले कोरोनाका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो।

कोरोनाका कारण अवरुद्ध पठन–पाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी–शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरेर सरोकारवालाले आफ्नो दायित्व निर्वाह गर्नेगरी आस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ।

भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणी पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिँदै बसाई स्थानान्तरण भएका विद्यार्थीको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए।

शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमूना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए।

सरकारले यसअघि नै १ असारबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र १ असोजबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ।महामारीका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकोले अन्तरमन्त्रालय र सम्बन्धित निकायसँगको छलफलपछि कार्ययोजना निर्माण गरिएको हो।