काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने महिला खेलाडीको सूची सार्वजनिक गरेको छ । क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १९ महिला खेलाडीको सूची सार्वजनिक गरेको हो ।

क्यानले महिला खेलाडीलाई कन्ट्रयाक्टमा राखेको यो पहिलो पटक हो । चितवनमा बसेको बोर्ड बैठकबाट प्रस्ताव पारित हुनासाथ क्यानले कन्ट्रयाक्टमा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गरेको हो । सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ ।

खेलाडीले वर्गीकरण अनुसार नै तलब पाउने गर्छन् । महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ ले १२ र ’सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने गरेका छन् । यस्तै, क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुष खेलाडीको सूची समेत सार्वजनिक गरेको छ ।

मंगलबार सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १८ पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको हो । पुरुषतर्फको वर्गीकरणमा ‘ए’ श्रेणीका खेलाडीले ५० हजार, ‘बी’ श्रेणीको खेलाडीले ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउँछन् ।