वीरगञ्ज । बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बारा निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको हो । बाराका डीएसपी गौतम मिश्रका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ ।