राैतहट । श्रीराम सुगर मिल्ससँग भुक्तानीको माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरुले राजमार्ग नै अवरुद्ध पारेर सडकमा प्रदर्शन गरेका हुन् । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले गएको आर्थिक वर्षसम्म किसानसँग किनेको उखुको मूल्य भुक्तानी नगरेको भन्दै तीन दिने चक्काजाम घोषणा गरिएको उखु उत्पादक संघ रौतहटले जनाएको छ । शनिवार एक घन्टा चक्का जाम गरेका उखु किसानले आइतबार दुई घन्टा सडक अवरुद्ध पारे ।

उखु किसानले तीन सूत्रीय माग राखेर रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले तीन दिनभित्र आफुहरुको माग पूरा गराउन पहल गर्न आग्रह गर्दै त्यसो नभए चक्का जाम गर्ने चेतावनी दिएका छन् ।

गएको आर्थिक वर्षसम्मको सम्पूर्ण रकम गरी किसानले उद्योगबाट लिनुपर्ने करिब ४१ करोड रुपैयाँ तत्काल भुक्तानी पाउनु पर्ने, उद्योगका श्रमिक–मजदुरको उपदान, क्षतिपूर्ति तथा बीमाको रकमको भुक्तानी दिनुपर्ने र उद्योग सञ्चालन गर्नुपर्ने लगायत माग राखि किसानले आन्दोलन गरिरहेका छन् । किसानको आन्दोलनमा उद्योगका मजदुरले पनि समर्थन जनाएका छन् ।