एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक–एक गोल गरे । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५०औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यसैसिजन क्लब आएका चिलवेलको यो चेल्सीका लागि पहिलो गोल हो । खेलको ६६औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो ।

क्रिस्टलका मिचेलले चेल्सीका टामी अब्राहमलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जोर्गिन्हो चुकेनन् । त्यसपछि खेलको ८२औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

यो पल्ट भने क्रिस्टलका साखोले चेल्सीका काइ हाभर्ट्जलाई फउल गरेका थिए । जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । चेल्सीको यो लिगमा दोस्रो जित हो । क्रिस्टलको ४ खेलमा ६ अंक रहेको छ । आठौं स्थानको क्रिस्टलको यो दोस्रो हार हो ।