रौतहट । राजपुरमा विष्फोटपछि जिउँदै मान्छे जलाएको घटनामा फरार रहेका ७ जनामध्ये एक जना पक्राउ परेका छन्।

पूर्वमन्त्री शेख ईद्रिसको गोठमा भएको बम विस्फोटको घट्नामा संलग्न रहेका आरोप लागेपछि फरार भएका इँटाभट्टाका हेड मिस्त्री बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनी पक्राउ परेका हुन् ।

उनलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो। भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

२८ चैत २०६४ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस–४ का शेख ईद्रिसको गोठमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो।

विस्फोटमा १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको दाबी छ । घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता अफताव आलमलाई पक्राउ गरेको थियो। उनी हाल पुर्पक्षका लागि थुनामा छन्।