काठमाडौं । कांग्रेसले सरकारको गतिविधिविरुद्ध सडक संघर्षको तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस संगठन विभागको बैठकमा सरकार भ्रष्टाचारमा डुबेको, सरकार लापरवाहीमा अघि बढेको भन्दै सडकमा सम्पूर्ण कार्यकर्ता र भ्रातृ संगठनलाई उतार्ने विषयमा छलफल भएको विभाग प्रमुख गोपालमान श्रेष्ठले बताए ।

उनले छिटै संसदको अधिवेशन आह्वान गर्न सरकारलाई दबाब दिने र जनताका कुरा संसदमार्फत नै कांग्रेस सांसदले राख्ने समेत बताए । त्यस्तै संगठनलाई चूस्तदुरुस्त गर्दै लैजाने र सम्पूर्ण ध्यान महाधिवेशनमा दिइने उनले जानकारी दिए ।

श्रेष्ठले पार्टीको विवादलाई छिटै समाधान गर्नुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिविरुद्ध लिखित प्रस्ताव पार्टीमा दर्ता गर्नु दुर्भाग्य भएको उल्लेख गरे । संगठन विभागको बैठक आइतबार बोलाइएको छ ।