काठमाडौं । पशुपति क्षेत्र विकास कोषले लागू गर्न लागेको गुरुयोजना खारेज गर्नुपर्ने माग गर्दै स्थानीयले कोषको कार्यालय अगाडि धर्ना दिएका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले स्थानियसँग समन्वय र छलफल नै नगरी एकलौटी ढंगले गुरुयोजना बनाएको भन्दै खारेजी माग गरेर कोष अगाडि धर्ना दिएको हो । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको उनीहरुको आरोप छ ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले आफुहरुको मागका बारेमा पर्यटनमन्त्रीसँग पटक–पटक छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसको भन्दै विरोध गर्नु परेको बताए ।

पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्रा मास्ने गरी गुरुयोजना ल्याइएको उनको आरोप छ । सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।