वुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीले नेकपाको पार्टी सदस्यबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत रहेका बताइएको छ । यो क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्।

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले नेकपामा रहन नसक्ने जनाएका हुन्।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताएका छन् । उनले प्रदेश सभामा पेश राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।