काठमाडौं । यो वर्षको नोबल शान्ति पुरस्कार राष्ट्र संघ मातहतको ‘विश्व खाद्य कार्यक्रम’ले पाएको छ। विश्वमा द्वन्द्वले थलिएका क्षेत्रमा शान्ति स्थापना र भोकमरी विरुद्धको लडाईमा गरेको योगदानका लागि विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबल शान्ति पुरस्कार प्राप्त गरेको हो।

यो संस्थाले हरेक वर्ष विश्वका ८८ वटा मुलुकका ९ करोड ७० लाख मानिसलाई भोकमरी विरुद्ध सहयोग गर्दै आइरहेको छ। यद्यपि अहिले पनि विश्वमा प्रत्येक ९ जनामध्ये १ जनाले पर्याप्त खाना खान पाइरहेको अवस्था नरहेको बताइन्छ ।

नोबल समितिकी अध्यक्ष, बेर्रिट रेइस एन्डेर्सनले भनेकी छन् ‘यस्तो संकट पहिले भन्दा थप गहिरिँदै गइरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य र वहुपक्षिय सहयोगको आवश्यक्ता अनिवार्य बनेको छ।’

उनले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपीं)ले विश्वभर द्वन्द्व र युद्धको हतियारका रुपमा भोकमरीको प्रयोगलाई रोक्ने महत्वपूर्ण काम गरेको बताएकी छन् । साथै कोरोना महामारीका समय डब्ल्यूएफपीको कामले थप महत्व झल्काएको उनको तर्क छ। –एजेन्सीको सहयोगमा