काठमाडौं । नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य भएकी सानु सिवा(पहाडीं)को बुधबार विहान निधन भयो । धेरै चर्चामा नरहेपनि सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय उनलाई मृगौलाको रोगले लामै समय सतायो ।

२०३६ सालबाट विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सक्रिय ताप्लेजुङकी सानुले इलामका साहित्यकार डम्बर पहाडीसँग विवाह गरिन् । डम्बर पहाडी भने साहित्यकार एवम् एकलाइने कविता आन्दोलनका प्रवर्तक हुन् ।

इलाम नेकपाका नेता नवराज शंकरले सानुलाई नेपाली सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनको अथक योद्धाका रुपमा चित्रण गरेका छन् ।

यतिमात्र होइन सानु र डम्बरको विवाहको पनि नौलो कहानी छ । दुवै जना साहित्यिक ब्यक्ति भएकाले उनीहरुले नेपालमा पहिलोपटक ‘स्टेज म्यारिज’ गरेका थिए । त्यो विवाह पनि १७ सयमा सम्पन्न भएको भनेर खुबै चर्चा पाएको थियो ।

स्टेजमा जनवादी गीत गाउँदै हिड्ने सानु २०२८ सालतिर जनवादी गीतहरुबाट प्रभावित भएर जनताको गीत गाउँदै हिंडेपनि कालान्तरमा महिला विकास शाखाको कर्मचारी रहँदा डम्बरसँग विवाह भएको हो ।

ओछ्यान लागेर मृत्युवरण गर्नु नपरोस भनेर बताउने उनको २०६२–०६३ को आन्दोलन चलिरहंदा दुवै मृगौला फेल भएको थियो । त्यसपछि निरन्तर कमजोर हुँदै गएकी राजनीतिमा भने सक्रिय नै थिइन् । तमिलनाडुको एपोलो हस्पिटलमा मृगौला प्रत्यारोपण गरेर आएको एकवर्षपछि पाठेघरमा ट्युमरले थलिएकी उनलाई पछि मोतियाबिन्दु पनि भएको थियो ।

शल्यक्रिया गरेर ट्युमर फालेको दुई वर्षपछि फेरि हृदयघात भएर मुटुको दुईओटा भल्भ हाल्नुपर्ने परेको थियो । रोग बोकेर कमजोर भएपनि निरन्तर राजनीतिमा सक्रिय सानुलाई केही दिन अघि मुटुमा एकाएक समस्या आएपछि काठमाडौं मेडिकल कलेज लगिएकामा उपचारका क्रममा निधन भएको हो ।