काठमाडौँ । सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन् । यस्तै, बेलायतका लागि राजदूत सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

समितिले प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै समिति सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताए ।

समितिले २१ असोजमा १० दिनको समय दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर, सम्पर्क नम्बर उल्लेख नभएकाले १७ कात्तिकका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।

१५ असोजको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वाटेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सोही बैठकले पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्बाब्वे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवासीय राजदूत नियुक्त गर्न सिफरिस गरेको थियो ।

सरकारले गरेको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।