काठमाडौँ । सरकारले श्रमिक सूचना बैंक स्थापना गर्न लागेको छ । श्रमिकको आधारभूत पहिचान हुने गरी विभिन्न निकायसँग रहेका विवरण समेटी जनशक्ति योजनाका लागि बैंकको स्थापना गर्न लागिएको हो । यसका लागि कार्यविधि बनिरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमयोग्य जनशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) को वैयक्तिक एकीकृत विवरणका लागि बैंक स्थापना गर्न लागेको बताए । उपलब्ध हुने रोजगारका अवसर र सीपमूलक तालिमबीच तादात्म्य हुन नसकेकाले बैंक आवश्यक परेको उनको भनाइ छ ।

‘यहाँ रोजगारदाताले भनेजस्तो काम गर्ने मान्छे भेट्टाउँदैन । श्रमिकले खोजेजस्तो रोजगारदाता भेट्दैन,’ उनले भने, ‘यो खाडललाई पुर्ने काम श्रमिक सूचना बैंकले गर्नेछ ।’ विदेशबाट सीप सिकेर फर्केका कामदारको विवरण श्रम बैंकमा राखेपछि रोजगारी सिर्जना गर्न सहज हुनेछ ।

चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमले सबै स्थानीय तहका रोजगार सेवा केन्द्र र रोजगार सूचना व्यवस्थापन प्रणालीलाई थप विकसित गरी श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सरकारले यो बैंकबाट ५० हजार जनालाई रोजगार दिन एक अर्ब रुपैयाँसमेत छुट्याएको छ ।