काठमाडौँ । सांस्कृतिक संग्रहालयले नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३०० विशिष्ट महिलाहरुको सचित्र जीवनी प्रकाशित गर्ने भएको छ ।

महिलाहरुले विभिन्न क्षेत्रमा पुर्‍याएकाको योगदानको कदर गर्दै सचित्र जीवन प्रकाशित गर्न लागेको उक्त संस्थाले जनाएको छ । यसअघि पुराना र नेपालमा कुनै पनि काम पहिलो पटक गर्ने महिलाबारे ‘नेपालका विशिष्ट महिलाहरुः ऐतिहासिक फोटो प्रर्दशनी’ गर्दै आएको सांस्कृतिक संग्रहालयले यसपटक पुस्तक प्रकाशन गर्न लागेको संस्थाका अध्यक्ष क्षितीज अरुण श्रेष्ठले जानकारी दिए ।

नेपालका प्रथम नर्स लामु अमात्यको नाममा ‘विशिष्ट महिला अभिलेखिकृत अभियान ‘२०७७/७८’ अन्तर्गत महिलाहरुबारे अध्ययन अनुसन्धान गरी लेखन र प्रकाशन गरिन लागेको हो । जीवनी लेखनको जिम्मा विभिन्न पुस्तक लेखन तथा प्रकाशन गर्दै आएको घोष्ट राईटिङ नेपालले लिएको श्रेष्ठले बताए ।

आगामी ६ महिनाभित्र सचित्र जीवनी प्रकाशित गरिसक्ने गरी दुई संस्थाबीच सम्झौता भइसकेको छ । जीवनी लेखनका लागि देश तथा विदेशमा रहेर विभिन्न विधामा विशेष योगदान पुर्‍याउने महिलाहरुको खोजी भइरहेको जनाइएको छ ।

अभिलेखिकृत अभियान अन्तर्गत डिजिटल आर्काइभ, फोटो पुस्तक प्रकाशन र साताव्यापी फोटो प्रदर्शनीलगायत काम पनि गरिने भएको छ । जीवनीमा नेपालका ‘विशिष्ट महिलाहरू’, ‘प्रथम महिलाहरू’, ‘साहसिक महिलाहरू’ र ‘नेपालका चर्चित महिलाहरू’ लाई समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।