एजेन्सी । नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन उमेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उमेदवार जो बाइडेनबीचको अन्तिम टेलिभिजन बहस कोभिड-१९ र जातियताका विषयमा केन्द्रित भएको छ ।

टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका विषय कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय विषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व रहेका थिए ।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्‍न सोधेकी थिइन्।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भने, ‘हामीसँग खोप छ । त्यो आउँदैछ । त्यो तयार भइसकेको छ । त्यो केही सातामै घोषणा हुँदैछ ।’

बाइडनलाई सुरुमा कोरोना भाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो । कोरोना भाइरसको साटो व्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ दिए, ‘म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु ।’

बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन् । ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए ।

अमेरिकामा निर्वाचनमा अगावै चार करोड ७० लाख मानिसहरुले मतदान गरिसकेका छन् । अमेरिकामा २३ करोड ७० लाख योग्य मतदाताहरु रहेका छन् ।