ओखलढुंगा । जिल्लामै पहिलोपटक खिजिदेम्बा गाउँपालिका– ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको छ ।

७० वर्षमाथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुषहरू सहाराविहीन बनेकाले उनीहरूलाई वडाको बजेटबाट मासिक पाँच सय आर्थिक सहयोग गरेर सम्बोधन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय तथा दलित बालबालिका र अपांगता भएकालाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरणसँगै एकल पुरुषलाई पनि मासिक भत्ता वितरण गर्न थालिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

‘हामी घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्छौँ । ७० वर्ष माथिकालाई भत्ता दिइरहँदा त्यो उमेर नपुगेका सहाराविहीन एकल पुरुषहरूको पीडा असाध्यै दुःखलाग्दो पाइयो । त्यसैले वडाबाट विशेष कार्यक्रम बनाएर एकल पुरुष भत्ताको कार्यक्रम ल्याएको हुँ,’ वडाध्यक्ष न्यौपानेले भने, ‘जनताका माग र आवश्यकता हेरेर हजारौँ योजना बनाइएको छ, तर वडामा स्रोत सीमित छ । सीमित स्रोतलाई नै व्यवस्थापन गरेर एकल पुरुषलाई मासिक भत्ता दिन थालेका छौँ । यो पर्याप्त नहोला, तर सुरुवात हो, यसले एकल पुरुषलाई केही सहज हुने अपेक्षा गरिएको छ ।’

सबै नागरिकलाई स्थानीय सरकारका तर्फबाट अभिभावकत्व दिने वडाको नीतिअनुसार एकल पुरुष भत्ता कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

यो वर्षबाट खिजिकातीका ६० देखि ६९ वर्ष उमेरका सातजना एकल पुरुषले मासिक पाँच सयका दरले एकल पुरुष भत्ता लिन थालेका छन् ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तासँगै वडाले एकल पुरुषलाई यस वर्षको मासिक भत्ताबापत पाउने ६ हजार रकम वितरण गरिसकेको छ ।

खिजिदेम्बा– ४ मा १५ जना एकल पुरुष छन् । उनीहरूमध्ये आठजना ६० वर्षमुनिका छन् ।

६० वर्षमुनिका एकल पुरुष आफैँ सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडाले जनाएको छ ।