काठमाडौँ । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव तथा मदन पुरस्कार विजेता लेखक रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानून क्षेत्रका ज्ञाता एवं लेखक खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । मधुमेह र दमको बिरामी उनी घरमै उपचाररत थिए ।

खनालले ‘नेपालको कानूनी रुपरेखाको इतिहास’ कृतिका लागि २०५९ सालमा मदन पुरस्कार पाएका थिए । उनका ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पुस्तक प्रकाशित छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।