काठमाडौँ । सरकारले साना तथा लघु जलविद्युत् आयोजनाको विद्युत्लाई पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयनमा ल्याएको छ । उक्त कार्य कर्णाली प्रदेशको जुम्लाबाट सुरु गर्न लागिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन विस्तार गर्दै जाँदा स्थानीयस्तरमा बनेका साना तथा लघु जलविद्युत् आयोजनाको अस्तित्वमै सङ्कट पर्ने अवस्था आउन नदिन र निर्माण भइसकेका पूर्वाधारबाट प्राप्त हुने लाभलाई जोगाइराख्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस्तो कार्यक्रम बनाएको थियो । वर्तमान सरकार गठन भएलगत्तै उक्त मन्त्रालयले जारी गरेको श्वेतपत्रमा समेत यस्तो आवश्यकता औँल्याइएको थियो ।

केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने अवस्थामा देशका विभिन्न ग्रामीण क्षेत्रमा स्थानीय समुदाय र सरकारसमेतको लगानीमा यस्ता आयोजना बनेका छन् । देशभर कुल करिब ३२ मेगावाट क्षमताका करिब दुई हजार यस्ता लघु तथा साना जलविद्युत् आयोजना रहेको तथ्याङ्क वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको छ ।

यस्ता आयोजनामा स्थानीयको मागअनुसार प्राविधिक सेवा दिने प्रवद्र्धन गर्नेदेखि अनुदानसमेत केन्द्रमार्फत हुँदै आएको छ । त्यस्तै समुदायले नै व्यवस्थापन गर्दै आएका कतिपय आयोजनमा उनीहरूको आर्थिक लगानीसमेत छ तर जनतालाई दिगो विद्युत् उपलब्ध गराउन राष्ट्रिय प्रसारण लाइन नै विस्तार हुँदै जाँदा त्यस्ता आयोजनाको लगानी र पूर्वाधार नष्ट हुने र स्वच्छ ऊर्जासमेत नाश हुने भएकाले सरकारले ती आयोजना जोगाउन मिनी ग्रिड आयोजनाको अवधारणा ल्याएको हो ।

सरकारको योजना कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र प्रसारण लाइन निर्माण तथा सञ्चालन जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले यसका लागि अध्ययन तथा प्राविधिक विकासका लागि यही कात्तिक पहिलो साता औपचारिक सहमति पनि गरिसकेका छन् ।

अध्ययन तथा प्रविधि निर्माणको काम प्राधिकरण स्वामित्वको एनईए इन्जिनियरिङले गर्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक महाशाखा प्रमुख डा. नारायण अधिकारीका अनुसार पहिलो चरणमा जुम्लाको चन्दननाथ नगरपालिका र यसका आसपासका लघु तथा साना जलविद्युत् समेटेर मिनी ग्रिड बनाउन लागिएको छ ।

यस क्षेत्रका साना तथा लघु जलविद्युत्लाई अहिले मिनी ग्रिडमा आबद्ध गर्न काम सुरु भइसकेको छ, उनले भने, “भोलि सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि ती आयोजना सुचारु हुने छन् । ती आयोजनाको विद्य्त् प्राधिकरणले खरिद गर्नेछ । यसकै लागि मिनी ग्रिडले काम गर्नेछ । ”

अधिकारीका अनुसार देशभर रहेका सबै लघु तथा साना जलविद्युत् आयोजनाको ग्रिड नेटवर्क बनाउने गरी एनईए इन्जिनियरिङले अध्ययन गर्नेछ । यसमा पहिलो चरणमा कम्पनीले जीआईएस प्रविधिबाट आयोजनाको भौगोलिक अवस्थिति, ग्रिड निर्माणको सम्भाव्यता अध्ययन गर्नेछ ।

त्यसपछि सम्भव देखिने आयोजनालाई ग्रिडमा आबद्ध गर्न स्थानीयवासीको रुचि, आवश्यकतालगायतका सामाजिक पक्षको पनि अध्ययन गरेर समग्र गुरुयोजना नै बनाउने गरी कम्पनीले काम गर्नेछ ।