काठमाण्डौ । साउदी सरकारले १२ सय १७ जना नेपाली श्रमिकलाई स्वदेश फर्कने बहिर्गमन भिसा दिएको छ । साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले आवासीय अनुमति अकामा नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहिने बहिर्गमन भिसा नपाएका नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको हो ।

साउदीमा कार्यरत नेपालीलाई स्वदेश फर्कनका लागि अनिवार्य रुपमा बहिर्गमन भिसा आवश्यक पर्छ । सन् २०२१ को मार्च १४ देखि भने स्वदेश फर्कंदा श्रमिकले रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन पाउनेछन् ।

अहिले बहिर्गमन भिसा नहुँदा स्वदेश फर्कन समस्या परेका श्रमिकले साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिन सक्छन् । तर दूतावासमा निवेदन दिँदा अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट बुझेर मात्र दूतावासमा पठाउन अनुरोध गरेको छ ।

अकामाको म्याद सकिएको र कम्पनीले एक्जिट नलगाइदिएको भएमा वा आफ्नो अकामाको म्याद रहँदै कम्पनीले हुरुब(भागेको) भनी जानकारी गराएको अवस्थामा मात्र पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा बहिर्गमन भिसाका लागि निवेदन दिन आग्रह गरिएको छ । कुनै मुद्दा लागेको भएमा त्यो मुद्दा सल्टिएपछि मात्र बहिर्गमन भिसाका लागि निवेदन दिनुपर्छ ।

साउदी सरकारले बहिर्गमन भिसा दिएको दुई महिना अर्थात ६० दिनभित्र स्वदेश फर्कन पर्छ ।