हेटौंडा । कृषिकर्मतर्फ पालिकाका बासिन्दालाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरको एक गाउँपालिकाले खाद्यान्न बिक्रीमा अनुदानको व्यवस्था गरेको छ । मकवानपुरगढी गाउँपालिकाले किसानलाई खेतीतर्फ आकर्षित गर्न खाद्यान्नमा अनुदान दिन लागेको हो ।

संघीय, प्रदेश वा स्थानीय सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यान्न बेच्ने किसानलाई गाउँपालिकाले प्रतिकिलो २ रुपैयाँका दरले अनुदान वितरण गर्ने जनाएको छ । सहकारी संस्थामार्फत खाद्यान्न खरिदबिक्री गर्ने गरी अनुदानको कार्यक्रम घोषणा गरिएको गाउँपालिकाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिकाभित्रकै सहकारी संस्थालाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि सूचीकृत हुनसमेत सूचित गरिएको छ । गाउँपालिकाभित्रका सबै प्रकृतिका सहकारीले सूचीकृत भएर गाउँपालिकाका किसानले गाउँपालिकाभित्रै उत्पादन गरेका खाद्यान्न खरिद गर्न पाउने व्यवस्था गरिएको हो ।

यसरी पालिकामा सूचीकृत भई किसानको खाद्यान्न खरिद गर्ने सहकारीले पनि प्रतिकिलो २ रुपैयाँ अनुदान प्राप्त गर्नेछन् । किसानसँग किनेको खाद्यान्नको भण्डारण र व्यवस्थापन गर्न सहकारीलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।

किसानले उत्पादन गरेको खाद्यान्नको उचित मूल्य प्राप्त गर्न र कृषिकर्मतर्फ प्रोत्साहित गर्ने गरी पालिकाले पहिलो पटक खाद्यान्न बालीमा अनुदान कार्यक्रम घोषणा गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए ।

‘गाउँपालिकाले किसानलाई २ रुपैयाँ र सहकारीलाई पनि २ रुपैयाँ गरी प्रतिकिलो ४ रुपैयाँ अनुदान दिने व्यवस्था गरेका छौं,’ हुमागाईंले भने ।