काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ति सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानुन आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तिसम्वन्धी अधिकार सुनिश्चित गर्न लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसी नेतृत्वको एक टोलीले कानुन आयोगका अध्यक्ष माधव पौडेलमार्फत् एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । आयोगसँगको छलफलमा उपाध्यक्ष डा. केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

आयोगका अध्यक्ष माधव पौडेलले प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । उनले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिकताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।