एजेन्सी । औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सुरक्षित भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

कम्पनीले यस सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भनेको छ । आपतकालिन प्रयोग अनुमतिका लागि कम्पनीले यसै महिनाको अन्त्यसम्म आवेदन दिने जनाइएको छ ।

अनुमति मिलेमा कम्पनीले वर्षको अन्त्यसम्म ५ करोड मात्रा उत्पादन गर्न सकिने बताएको छ । यो मात्राले २ करोड ५० लाख मानिसलाई कोरोनाबाट जोगाउन सक्नेछ । यस्तै आगामी वर्षसम्म १ अर्ब ६० करोड मात्रा उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

खोपको सफलतालाई कोरोनाको जारी विश्व महामारीका विरूद्ध अहिलेसम्मको ठूलो सफलता ठानिएको छ । खोपको हालसम्म ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिसकिएको छ र यसमा कुनै जोखिमहरू देखिएको छैन् ।

हाल संसारमा दर्जनौको संख्यामा खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा रहेका छन् । तर प्रभावकारी नतिजा देखाएको खोप यो पहिलो हो ।

कसरी दिइन्छ खोप
शरिरको प्रतिरोधक क्षमता भाइरसविरूद्ध लड्न तयार होस् भन्नाका लागि यो खोपबाट मानिसको शरिरमा भाइरसको जेनेटिक कोड हालिन्छ । यसअघि भएका परीक्षणमा कोरोनासँग लड्न खोपले एन्टिबडी बनाउने र प्रतिरोधी क्षमताले शरिरको एक भागमा टि-सेलको निर्माण गर्दछ । यो खोप तीन साताको अन्तरालमा दुईपटक लगाइन्छ ।

हालसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणले खोप लगाइएको सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरूद्ध रक्षात्मक प्रणाली विकास भएको देखाएको छ ।

तर खोपका केही चुनौती पनि छन् । यसलाई शुन्य देखि ८० डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्छ । यसैगरी यसको प्रतिरोधी क्षमता कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि छ । फरक उमेर समूहका मानिसमा यसबाट हुने प्रभावका बारेमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

फाइजरका अध्यक्षले भने, हामी संसारभरका मानिसलाई यस संकटबाट निकाल्ने कामको एकदमै नजिक पुगेका छौं । बायोनटेकका प्रोफेसर उगूर साहीनले परीक्षण नतिजा कोशेढुँगा भएको बताएका छन् ।

खोपको नतिजाका बारेमा हालसम्म पेस गरिएको तथ्यांक अन्तिम विश्लेषण भने होइन । यो ९४ जना कोरोना पोजेटिभ भएका स्वयमंसेवीमाथि गरिएको परिक्षण नतिजामा आधारित तथ्यांक हो ।