रौतहट । राष्ट्रिय वन हडपेर व्यक्तिको नाममा दर्ता गरिएको १२२ बिगाहा जमीन सरकारको नाममा फिर्ता भएको छ । २६ जनाको नाममा रहेको गुजरा नगरपालिकास्थित राष्ट्रिय वनको जमीन फिर्ता भएको हो ।

साबिकको रंगपुर गाउँ विकास समिति नजिकको राष्ट्रिय वन क्षेत्रको जमीन सर्लाही, ओखलढुंगा, काठमाडौँ, रामेछाप, सिन्धुली, सोलुखुम्बु तथा सिन्धुपाल्चोक जिल्लाका विभिन्न २६ जनाको नाममा तत्कालीन नापी कार्यालयले जग्गाधनी स्रेस्ता कायम गरेको थियो ।

राष्ट्रिय वनको ठूलो क्षेत्र व्यक्तिको नाममा गए पनि कुनै खोजखबर भएको थिएन । पछिल्लो समय नापी विभागको आदेश भएपछि मालपोत कार्यालयको स्वीकृतिमा व्यक्तिको नाममा गइसकेको जमीन सरकारको नाममा आएको हो ।

मालपोत कार्यालय चन्द्रनिगाहपुर, डिभिजन वन कार्यालय रौतहट तथा जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त बैठकबाट पहिले राष्ट्रिय वनको र पछि व्यक्तिको नाममा दर्ता हुन गएको १२२ बिगाहा जमीन पुनः सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

केही व्यक्तिले हडपेको राष्ट्रिय वनको जग्गा फिर्ता भएपछि स्थानीयले खुसी प्रकट गरेका छन् । सरकारी जमीन व्यक्तिको नाममा गराउने र त्यसका लागि भूमिका खेल्नेमाथि छानबिन तथा कारबाही पनि हुनुपर्ने उनीहरुको माग छ ।