काठमाडौं । सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ । बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबर ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको बिमोचन तथा लोकार्पण गरेका हुन् ।

पुस्तकमा ललितपुर, काठमाडौं र भक्तपुरका दफा र मृदङ्ग भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत सङ्गीतलाई समेटिएको छ । त्यसबाहेक विगत ४ सय वर्ष देखि निरन्तर रुपमा ज्येष्ठ पूर्णिमाका दिन मंगलबजार कात्र्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कबि राजा सिद्धिनरसिंह मल्लका गीतहरु समेत पुस्तकमा समावेश छन् ।

यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको ‘‘हेबज्रतन्त्र’’ ग्रन्थको आधार पनि प्रस्तुत गरिएको छ ।

बरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष जोशीले यस्तो किसिमको पुस्तकले देशभित्र सङ्गीतको विधालाई फडको मार्न ठूलो मद्दत पुर्‍याउने बताए ।कार्यक्रममा लेखक गुर्वाचार्यले काठमाडौं उपत्यका भित्र रहेको प्रचिन सङ्गीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरिएको बताए ।

करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘‘जातिगान’’का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरु अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता सङ्गीतलाई पुस्तकमा समेटिएको जनाइएको छ ।