एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले एउटा चुनावले सत्यको क्षयलाई नरोक्ने बताएका छन् ।

ओबामाले अमेरिकासमक्ष देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू’ लाई उल्टाउनुपर्ने ठूलो काम रहेको पनि प्रष्ट्याएका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको पनि बताए । चार वर्षअघि सन् २०१६ को निर्वाचनमा डोनल्ड ट्रम्प राष्ट्रपति चुनिएका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको आरोप ओबामाको थियो ।

ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ता खाले विभाजनका प्रयासलाई सच्याउने कार्यको शुरुवात भएको बताए । त्यस्ता प्रवृत्ति उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्ने भन्दै उनले ध्रुवीकृत राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयमा मात्र छाड्न नसकिने बताए ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनसँग अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुण भएको पनि ओबामाले बताए ।

आगामी पुस्ताको परिष्कृत सोचमा ठूलो आशा देखेको बताउँदै ओबामाले युवापुस्तालाई ‘विश्वलाई परिवर्तन गर्नसक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न’ र ‘त्यो परिवर्तनको हिस्सा बन्न’ आह्वान पनि गरे ।