काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेकसहित उनीहरु पक्राउमा परेका हुन् ।

अबैध जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको कुलेश्वरका शिव श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

डिएसपी बोहोराका अनुसार पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन् ।

पक्राउ परेकाहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।