काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् । खेल अवधि भर नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण बनाउनबाट चुकेका थिए ।

तर, खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो । रजिन धिमालको क्रसमा नवयुगको उत्कृष्ट हेडर पोस्टमा लागेर फर्कदा नेपाल जित निकाल्नबाट बन्चित भयो । यस्तै बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन । यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ । बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो ।

शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २-० ले हराएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।