काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठक बुधवार १ बजेका लागि बोलाइएको छ । यही समयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

एक मन्त्रीका अनुसार नेकपाको सचिवालय बैठक बोलाइएको समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यसले नेकपाको सचिवालय बैठक अन्योलमा परेको छ ।

यसअघि सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । प्रधानमन्त्री ओली आजको सचिवालय बैठक सार्न लागि परेका छन् ।

पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ । प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्नुपर्ने पक्षमा पुगे पनि प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु जसरी पनि बैठक राख्ने पक्षमै उभिएका छन् ।

प्रधानमन्त्रीले मंगलवार बिहान महासचिव विष्णु पौडेललाई सचिवालय बैठक सार्ने प्रस्ताव पठाएका थिए । तर, प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गर्दै बैठकमार्फत् नै अघि बढ्नुपर्ने जवाफ महासचिवलाई दिएको बताइएको छ ।