रौतहट । मकैबालीमा किरा लागेपछि चन्द्रपुरका किसान चिन्तित बनेका छन् । मकै उम्रनेबित्तिकै किराले मकैको बोटै सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

चन्द्रपुर नगरपालिका– ४ को कप्तान टोलका किसानले लगाएको करिब १० बिघाको मकैबाली किराले नष्ट गरेपछि किसान मकै काटेर अन्य लगाउन बाध्य भएको स्थानीय किसान केदार तिमल्सिनाले बताए ।

आफूले लगाएको मकैबारीमा ६ पटकसम्म औषधि हाल्दासमेत किराले मकैको बोट खान नछाडेपछि अब आफू मकै मासेर अन्य बाली लगाउने सोचमा रहेको तिमल्सिनाले बताए । सोही स्थानका अर्का किसान बाबुराम तिमल्सिनाले एक बिघामा लगाएको मकैबाली किराले नष्ट गरेपछि उनले मकै मासेर तोरी लगाएको बताए ।

हाइब्रेड जातको मकै लगाएका किसानलाई किराले दुःख दिएपछि उनीहरूले चन्द्रपुर नगरपालिकालगयतका समबन्धित निकायमा जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएको किसानको गुनासो रहेको छ ।

पाँच सय ७५ रुपैयाँ किलोको मकैको बिउ ल्याएर रोपेका किसानले एग्रोभेटबाट पटकपटक विभिन्न औषधि ल्याएर छिर्कँदासमेत औषधिले काम नगरेको उनीहरूको भनाइ रहेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रलाई समेत उक्त विषयमा जानकारी गराएको भए पनि सम्बन्धित निकायले चासो नदिएको किसानको गुनासो छ । जिल्लाको उत्तरी भेगमा हरेक वर्ष हाइब्रेड जातको मकैमा विभिन्न रोग देखापरेर किसानले लगाएको मकैबाली प्रभावित हुँदै आएको छ ।