काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले महत्वपूर्ण तीन खेल गुमाउने भएका छन् ।

दाहिने तिघ्रामा लागेको चोटका कारण उनले ला लिगामा भिलारियल र अलाभेस साथै च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल गुमाउने भएका हुन् ।

रियल मड्रिडले भिलारियलसँग शनिबार राति ९ बजे खेल्दैछ भने आउने बिहीबार च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा इन्टर मिलानसँग खेल्दैछ ।

त्यसको तीन दिन पछि नै ला लिगामा अलाभेससँग खेल रहेको छ । डिफेन्डर रामोसले डिसेम्बर १ मा हुने च्याम्पियन्स लिग अन्तर्गत शख्तर डोनेस्कसँगको खेल भने खेल्न सक्ने अनुमान गरिएको छ ।

युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीलाई ६–० ले हराएको खेलमा रामोस चोटका कारण बाहिरिएका थिए । ४० औँ मिनेटमा रामोस बाहिरिएपछि पनि स्पेनले जर्मनीलाई दोस्रो हाफमा थप तीन गोल हानेको थियो । तर रियल मड्रिड टिममा भने रामोसबिनाको पछिल्ला अवस्था सहज छैन ।

ला लिगामा रियल १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।