काठमाडौँ । होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ । “प्रवल जनसेवाश्री चतुर्थ”बाट समेत विभूषित शाक्यको शुक्रबार बिहान ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनले हानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका  थिए । २४ वर्षभन्दा बढी होटल संघ नेपालमा सक्रिय शाक्य यस क्षेत्रमा स्वस्थापित कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुका साथै अतिथ्यता उद्योगको स्तरोन्नी र समग्र पर्यटन प्रवर्द्धनका एक सक्रिय अभियन्ता रहेको हानका अध्यक्ष सिर्जना राणाले बताएकी छन् ।

होटल क्षेत्रमा रोजगारदाता र श्रमिकको बीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न शाक्यको महत्वपूर्ण भूमिका रहेको हानले उल्लेख गरेको छ ।

शाक्यका श्रीमती र दुई छोरा छन् । उनका जेठो छोरा काठमाडौं मोडल हस्पिटलका चिकित्सक हुन भने कान्छो छोरोले सोल्टीमोडमा रहेको अमर होटलको व्यवस्थापन जिम्मा लिएका छन् ।