काठमाडौँ । विश्वव्यापी कोरोना कहरका कारण रेमिटेन्स आप्रवाह कम हुने अनुमान गरिएको भएपनि चालू आर्थिक वर्षको पहिलो तीन महीनामा भने गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महीनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि असोजसम्ममा रु.२ खर्ब ५८ अर्ब ८६ करोडको रेमिट्यान्स भित्रिएको छ ।

यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले बढी हो । अधिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स आय ५.१ प्रतिशतले थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले बृद्धि भएको छ । जसका कारण रु.२ अर्ब १८ करोड अमेरिकी डलर रेमिट्यान्स आप्रवाहक हुँदा बढेको हो ।

अघिल्लो वर्ष यस्तो रेमिटेन्स आय ४.७ प्रतिशतले घटेको थियो । असोज महीनामा दशैं परेका कारण उक्त महीनामा मात्रै रु. ९३ अर्ब रेमिट्यान्स भित्रिएको छ । दशैंको महीनालाई रेमेट्यान्स आय राम्रो हुने समय मानिन्छ ।

रेमिट्यान्स आय बढेको देखिए पनि चालू अबको पहिलो तीन महीनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या भने कोभिडका कारण ९६.८ प्रतिशतले घटेको छ ।

राष्ट्र ब्यांकको तथ्यांक अनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारिक मुद्रास्फीती अर्थात महंगीको दर भने ३.७९ प्रतिशत रहेको छ । यो अवधिमा आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ ।