काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले बताएका हुन् ।

सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको भन्दै पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने बताए । उनले दलहरुमा प्रशिक्षणको कमी भएको एवं विज्ञताको कमी रहेको बताए ।

हामी सबै सांसदहरुमा विज्ञताको तागत नहुँदा बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुपरेको सापकोटाले जिकिर थियो । हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्ने भन्दै उनले यसमा बढी ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताए । उनले कति गते बोलाउने भन्ने टुंगो नलागेपनि नियमित अधिवेशन सुरु हुने बताए ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताए ।