काठमाडौँ । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि बन्दाबन्दी घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि २२ मङ्सिरसम्म नगरपालिका क्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको उपमेयर मीना चन्दले जानकारी दिइन् । उनले भनिन्, “सदरमुकाम रहेको नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ, यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय  गरेका हौँ ।”

बन्दाबन्दी अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् । तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ ।

रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख छ ।

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ ।

यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ । कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।