काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेसँगै आजका लागि सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्षकमल दाहालले लगाएका आरोपको लिखित जवाफ पढेर सुनाएका थिए ।
ओलीले आफ्नो जवाफ राख्दै पार्टी फुटका विषयमा अहिले कसैले सोच्न नहुने धारणा राखेका थिए । साथै उनले आफूले तयार पारेको लिखित जवाफलाई खाममा राखेर सचिवालय सदस्यहरूलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अर्को बैठक १६ मंसिरमा दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने छ । पार्टी प्रवक्ता श्रेष्ठका अनुसार अब दुबै प्रतिवेदनमाथि छलफल हुने भएको छ । आजको बैठकमा ओली, दाहालसहित सचिवालयका ४ जना नेताले आफ्नो धारणा राखेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष दाहालले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए ।