काठमाडौँ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि गरिएको लकडाउनपछि अनलाइन व्यापार बढ्दै गएको छ । व्यापारको क्षेत्र विस्तारसँग यसलाई नियमन गर्न उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले कानून बनाउन तयारी थालेको जनाएको छ ।

प्रविधिमा पहुँच र सहजै घरैमा सामान पुग्ने हुनाले अनलाइन व्यापार बढेको सरोकारवालाहरुले बताएका छन् । २० वर्ष अघि डिजिटल बजारको अवधारणा आए पनि पछिल्लो १० वर्षदेखि अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीहरुले बताएका छन् । ब्राण्डवर्थ प्रालीले आयोजना गरेको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’मा सहभागि सरोकारवालाहरुले बन्दाबन्दीपछि यसको क्षेत्र विस्तार हुँदै गएकाले नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

सस्तो डिलका सञ्चालक अमन थापा वार्षिक १५० प्रतिशतका दरले अनलाइन व्यापार बढ्दै गएको बताउँछन् । १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भए पनि अहिले मुलुकभर इन्टरनेट पहुँच बढ्दै गएकाले अनलाइन व्यापार पनि फष्टाएको उनको भनाइ छ । “अहिले स्मार्ट फोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार विस्तार भएको हो । यसलाई प्रविधिको विस्तारले सहयोग पुगेको छ । तर, अनलाइन पेमेन्ट प्रणालीजटिल भएकाले सहजीकरण गर्न अति आवश्यक छ”, उनले भने ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डेले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि कानून बनाउन लागिएको जानकारी दिए । विभिन्न क्षेत्रगत कानूनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि विधेयक तयारी गर्न छलफल भइरहेको उनले बताए । नेशनल पेमेन्ट गेटवे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ ।

मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौती रहेको उनले बताए । नगद भुक्तानी प्रणालीलाई डिजिटल कारोबारमा ट्रान्सफर गर्ने सरकारको योजना रहेकाले यसलाई नीतिगत तरवरमा संरक्षण गर्न लागिएको जानकारी पनि दिए ।

फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले सुरुमा ग्राहकलाई अनलाइन व्यापारबारे बुझाउन धेरै समय लागे पनि पछिल्लो समय प्रयोगकर्ता बढेको बताए । अनलाइन व्यापार सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएकाले गाउँसम्म विस्तार गर्न धेरै नै समस्या रहेको उनको भनाइ छ ।

अरर्बन गल्र्सकी सहसञ्चालक निकिता आचार्यले उपत्यकामा मात्र नभएर पोखरा लगायतका अन्य शहरमा पनि अनलाइन व्यापारमाप्रति युवाको आर्कषण बढ्दै गएको बताइन् ।