काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य अन्तर्गत दक्षिण सुडानमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरूले त्यहाँ फैलिन थालेको डरलाग्दो जातीय हिंसा नियन्त्रण गरेका छन् ।

लामो समय गृहयुद्दको चपेटामा परेको दक्षिण सुडानमा खटिएको नेपाली सेनाको कालिध्वज गणअन्तर्गतको अस्थायी बेसबाट खटिएका सैनिकले सम्भावित ठूलो जातीय हिंसा नियन्त्रण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गण हेडक्वार्टरबाट करिब ७० किलोमिटर उत्तर पश्चिममा रहेको क्युइबेट इलाका नजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएका भनिएका कंगोर जातिका एक व्यक्तिको झडपमा मृत्यु भएपछि अएइल जातिका व्यक्तिहरुबीच हिंसा फैलिएको सेनाले जनाएको छ ।

‘हिंसा भड्किन लागेको खबर प्राप्त भएपछि अस्थायी बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको टोलीले ठूलो हिंसा हुनबाट जोगाएको थियो’, सेनाको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त इलाकाको सुरक्षास्थिति सामान्य भएपश्चात राष्ट्रसंघीय मिसनका अन्य इकाइहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य शुरु गरिएको थियो ।’

जातीय नरसंहारबाट गुज्रिएको दक्षिण सुडानमा पुनः त्यस्तै डरलाग्दो हिंसा निम्तिने अवस्था आएको र त्यसलाई नियन्त्रण गरेकोमा संयुक्त राष्ट्रसंघले उच्च प्रशंसा गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।