काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले म्यादी जीवन बिमा अब अनलाइनबाटै गर्न सकिने भएको छ । त्यस्तै वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम पनि अनलाईनबाटै भुक्तानी गर्न व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका सेवालाई थप सरल तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ ले समेत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाबाट म्यादी जीवन बिमा तथा कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । तोकिएका भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत कुनै पनि थप शुल्क तिर्नु पर्दैन ।