काठमाडौँ । संगठनको आचरणविपरीत काम गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसपछि गृह मन्त्रालयले १६ मंसीरदेखि लागू हुनेगरी एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा इन्स्पेक्टर मेघराजप्रसाद चौरसियालाई निलम्बन गरेको हो ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरणविपरीत गैरव्यवसायिक काम गरेको अभियोगमा उनीहरू निलम्बरमा परेको प्रहरी प्रवक्ता, बसन्तबहादुर कुँवरले बताए ।

थप छानविनका लागि प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उमेश रञ्जितकारको नेतृत्वमा समिति बनेको छ । आवश्यक अनुसन्धानपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरी प्रवक्ता कुँवरले बताए ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुँदा एसपीद्वय यादव र बस्नेतले मातहतका युनिटबाट मासिक रकम उठाएको प्रधान कार्यालयमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निलम्बन गरिएको हो ।

इन्स्पेक्टर चौरसिया पनि यसअघि कर्णाली प्रदेश ट्राफिक कार्यालयमा कार्यरत थिए । हाल उनी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत छन् । एसपी यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ र बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

यादव यसअघि सिन्धुलीमा कार्यरत रहँदा पनि गाँजा उत्पादन गर्नेप्रति नरम देखिएको चर्चा चलेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका बेला प्रहरी प्रधान कार्यालयले एसपी यादवमाथि छानविन गरेको थियो ।