काठमाडौँ । हुम्लाको सिमकोट विमानस्थलको कर्मचारी बस्ने भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ४ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयले ४ घण्टा लगाएर नियन्त्रणमा लिएका हुन् ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

‘चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको थियो । तर बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको छ,’ डीएसपी सुबेदीले भने, ‘क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।’

आगो विद्युतको तार सर्ट भए् लागेको हुनसक्ने डीएसपी सुबेदीले बताए । कार्यालयमा हिटर बालिएको कारण हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुनसक्छ सुवेदीले बताए ।

डीएसपी सुबेदीका अनुसार आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।