सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका तीन वटा सरकारी कार्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ ।

दैलेखको भैरवी गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा बस्दै आएका अधिवक्ता शेरबहादुर खत्रीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह नगरेको भन्दै मालपोत कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत विरुद्ध बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

अधिवक्ता खत्रीले दर्ता गराएको रिट उपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार तीन वटै सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । रिटमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई समेत विपक्षी बनाइएको छ ।

अधिवक्ता खत्रीले मालपोत कार्यालयले नागरिकलाई सहज रुपमा सेवा प्रवाह नगरी सास्ती दिएको र जनप्रतिनिधि तथा प्रदेशका सरकारले पनि सेवा प्रवाहलाई सहज बनाउन कुनै प्रयास नगरेकाले रिट दायर गरिएको जनाएका छन् ।

मालपोत कार्यालयले दलालहरुले ल्याउने काम मात्र गर्ने र आम नागरिक सेवा लिन हप्ता दिनसम्म कुर्नुपर्ने अवस्था रहेकाले रिट मार्फत सेवा सुधारको माग गरेको अधिवक्ता खत्रीले बताए । यस्तै, धेरै गुनासो आउँदा पनि जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेवास्ता गरेका कारण रिट दायर गर्नुपरेको उनको भनाइ छ ।