सिरहा । जिल्लाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो ।

अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा रहेको र आठवटा नवीकरण नगराएको पाइएको नगर स्वास्थ्य शाखा सहसंयोजक पवन पञ्जियारले जानकारी दिए ।

गोलबजार–२ स्थित सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, माँ धमिनी डेन्टल क्लिनिक, हरि केयर क्लिनिकलगायतका स्वास्थ्य संस्था बिनादर्ता अवैधरूपमा सञ्चालनमा रहेको पञ्जियारले बताए ।

यस्तै भूमिजा हस्पिटल, अजय कम्युनिटी डेन्टल अस्पताल प्रालि, एकता स्मृति पोलिक्लिनिक, सौरभ एण्ड कृष पोलिक्लिनिक, माँ धमिनी हस्टिल प्रालि, बेबी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रालिलगायतका स्वास्थ्य संस्था नवीकरणको प्रक्रियामा रहेको जनाएको छ ।

अनुगमनका क्रममा अवैधरूपमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उनको कथन छ ।

घुम्ती शौचालय उपयोगविहीन
गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ ।

गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो ।

घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो ।

खरिद गरेको एक वर्षसम्म नगरपालिकाले सम्झौताअनुसारको डिजाइनमा घुम्ती शौचालय निर्माण नभएको भन्दै पटक–पटक फर्काउने र केही फेरबदल गरेर ल्याउने प्रक्रिया कारण दुई वर्षदेखि उपयोगविहीन बनेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

लामो समयदेखि थन्किएको शौचालयलाई आवश्यक सुधार गरी ठाउँ खोजेर सञ्चालनमा ल्याइने नगरप्रमुख साहको कथन छ ।